राष्ट्रिय फुटबल टोलीलाई बिदाइ

काठमाडौँ –  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कतारको दोहामा हुने एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनशिपको छनोट खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ ।

एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना, एन्फा पदाधिकारी लगायतले सहभागी २३ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

नेपाली टोलीमा अविशेक रिजाल, अमित तामाङ, अञ्जन विष्ट, विकास खवास, एरिक विष्ट, अर्पण कार्की, असिम भुसाल, बिमल घर्तिमगर, विश्वास श्रेष्ठ, अनन्त तामाङ, गौरव बुढाथोकी र हेमन्त थापा छन् । त्यसैगरी दिनेश राजवंशी, कमल श्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनील बल, तेज तामाङ, छिरिङ गुरुङ, नितीन थापा र दीप कार्की छन् । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् भने सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ छन् ।

सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिपका लागि हुने उक्त छनोट प्रतियोगिता यही चैत ८ देखि १२ गतेसम्म हुनेछ । छनोटमा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छ ।

नेपालले पहिलो खेल यही चैत ८ गते ओमानसँग खेल्नेछ भने दोस्रो चैत १० गते कतार र अन्तिम खेल चैत १२ गते अफगानिस्तानसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन् । दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनशिपमा सहभागी हुने अवसर पाउनेछ । रासस

Got Something To Say: