गायिका अन्जु पन्तद्वारा जाडोमा न्यानो वितरण (भिडियो)

काठमाडौं– लोकप्रिय गायिका अन्जु पन्तद्वारा आइतबार भक्तपुर चाँगुनारायण नपा वडा नं. ७ स्थित रहेको मानव कल्याण सेवा घरमा न्यानो वितरण कार्य सम्पन्न भएको छ।

गायिका पन्तले सेवा घरमा रहेका ३५ अनाथ तथा वेवारिसे मानवहरूलाई जाडोमा न्यानोका निम्ति ब्लाङ्केट वितरण गरेकी हुन्। विगत केही हप्ताअघि बाट नेपालका तराईका दुर्गम समुदाय तथा गरिव र असहायलाई सहयोग गर्दै अाएकी पन्तले भक्तपुरमा पनि सहयोगका हात अघि बढाएकी हुन्।

उनले आफ्नै अध्यक्षतामा गठित ‘अन्जु पन्त फाउण्डेसन’मार्फत् यी सहयोगहरू गर्दै आएकी छिन् । फाउन्डेसनले यसअघि मंसिर १५ गते मकवानपुर खैराङका चेपाङ वालवालिका तथा विरगंज कारागारमा रहेका बालावालिकाहरूलाई विद्यालय सामाग्री वितरण गरेको थियो। त्यसैगरी पर्सा महुवन रामनगरियामा २० जना अपांग वालवालिकाहरूलाई न्यानो कपडा (सिरक, ब्लाङकेट) तथा विद्यालय सामाग्री, सर्लाहीमा ५५ जना मुसहर वालवालिकाहरूलाई विद्यालय ब्याग तथा स्टेसनरी सामाग्री वितरण भएको थियो।

यसैगरी न्यानो वितरणकै क्रममा फाउण्डेसनले पर्सा जिल्लाको सखुवा पर्सौनी गाउपालिका स्थित बेलुवा गाँउका ५० जनालाई न्यानो कपडा (सिरक, ब्लाङकेट) वितरण गरेको थियो । यस्तै फाउण्डेसनले मकवानपुरको चेपाङ बस्तीमा पनि निरन्तर सहयोग गर्दै आएको छ, त्यहाँ गत साता मात्रै पनि ८८ विध्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको थियो । उनले न्यानो वितरण गर्दै सञ्चारकर्मीहरूसङ्ग भनिन्, ‘सानै देखिको सामाजिक सेवाको रहर अहिले आदत बनेको महशुस भइरहेको छ। त्यसमा पनि पछिल्लो समय जति स्थानमा सहयोगका लागि हिँड्दा देखको मानिसहरुउको अवस्था देख्दा अब सामाजिक सेवा रहर र अदतमात्र नभएर समृद्ध नेपाल निमार्णका लागि आवस्यकता जस्तै लाग्न थालेको छ।’

गायिका पन्तले अब फाउण्डेसन  पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका स्थित मोर टोलका वासिन्दाहरूका लागि ३५ घर बनाउने अभियानमा लाग्ने जानकारी गराइन् । उक्त टाेलका बासिन्दाकाे दयनीय अवस्था देखेर अाएकी पन्तले  भनिन्, ‘यो ठूलो योजनाका लागि मलाई सबैको साथ र सहयोगको आवश्यकता छ ।’

केहो मानव कल्याण समाज (सेवा घर) ?

गत बैसाख २४ बाट सञ्चालनमा आएको सेवा घर झक्तपुर जिल्लाको चाँगुनारायण न‍.पा. वडा नं. ७ मा रहेको यतुमहादेव बागेश्वरीमा रहेका समाजिक सामाजिक घर हो।

सुमित्रा चौलागाईको अध्यक्षतामा सञ्चालित यस सेवा घरमा अहिले ३५ असहाय, अनाथ, बृद्ध, मनोरोगी तथा बालवालिकाहरु रहेका छन्। जसलाई संस्थाले सडक तथा सार्वजनिक स्थलमा मानसिक सन्तुलन गुमाएर र साहारा विहिन भएको अवस्थमा उठाएर साहारा दिई रहको छ। ‘सेवानै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर सञ्चालित सेवाघरले अहिले सम्ममा २५अलपत्र मानवलाई आ–आफ्नो घर परिवारसँग पुर्नः मिलन पनि गराएको बताउछिन् संस्थाकी संस्थापक अध्यक्ष तथा सञ्चालक सुमित्रा चौलागाई।

स्थानीय घरको २ वटा फ्ल्याट रु ३० हजारमा भाडामा लिएर सञ्चालन गरिएको सेवाघरले यत्रो संख्यामा मनोरोगी तथा बेसाहारा मानवलाई आश्रय दिँदै आएता पनि सरकार तथा सरोकारवालाहरुको चासो भने पुग्न सकेको छैन। यस बिषयमा संस्थापक अध्यक्ष चौलागाई भन्छिन्,‘सबैको जीवन उस्तै हो सबैले बाँच्न पाउने अधिकार छ र त्यो अधिकारबाट कोही पनि बञ्चित नहु्न् भन्ने उदेश्यले संस्था स्थापना गरिएको हो। त्यसै अनुसार हामीले उहाँहरुलाई सेवा गर्दै आएका छौं। तर अहिलेसम्म सरकारी निकाय तथा सरोकारवालाहरूले भने यस बिषयमा कुनै चासो देखाउनु भएको छैन। उहाँहरुले नैतिक र भावनात्मक रुपमा हाम्रो कामको हौसला र प्रशंसा गर्नु हुन्छ। तर सेवा घर सञ्चालनमा नैतिक र भावनात्क सहयोगले मात्र नपुग्ने कारण आर्थिक पक्षमा कठिनाई सृजना हुदै आएको छ।’

उनले गायिका अन्जु पन्तको न्यानो वितरण कार्यको सह्राना गर्दै भनिन्,‘हाम्रो सेवा घरमा निश्वार्थ सहयोग गर्न आउनुहुने सबैजना हाम्रालागि देवताजस्तै हुनुहुन्छ र आज अन्जुजीलाई पनि हामीले यसै अनुरुप लिएका छौं। जाडोको मौसममा न्यानोको आवश्यकता भइरहेका बेला अन्जुजीको सहयोगले निकै ठूलो समस्या समधान भएको छ। र यसरी नै हामीलाई निश्वार्थ सहयोग गर्न मन हुनेले सहयोग गर्न सक्नु हुनेछ।’

Got Something To Say: