बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन, बुधवारनै गरियो अन्त्येष्टि

काठमाडौं – बरिष्ठ कलाकार भिमबहादुर थापाको बुधवार निधन भएको छ। निधन पछि उनलाई दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । छोरा अमेरिकामा भएका कारण उनको पार्थिव शरीरमा जेठी छोरीले दागबत्ती दिएकी छन् । उनका २ छोरी र १ छोरा रहेका छन् ।

दर्जनौं फिल्म, टेलिफिल्म सँगै रेडियो नाटकमा अभिनय गरेर दर्शकमाझ प्रिय थापाको ९२ वर्षको उमेरमा बिहान २ बजे मैतिदेवीस्थित आफ्नै निवासमा निधन भएको थियो । उनी लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रषित थिए ।

प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी भएता पनि पूर्न्निर्माणको काम चलिरहेका कारण कलाकार थापाको पार्थिव शरीरलाई बिहान ११ बजे सिधै पशुपति आर्यघाट र्पुयाइएको थियो ।

अन्तिम श्रद्धाञ्जली दिन पुशपति आर्यघाटमा सयौं चलचित्रकर्मीदेखि शुभचिन्तहरुको उपस्थिति थियो । श्रद्धान्जलीकामा कलाकारहरु सिताराम कट्टेल, बसुन्धरा भुषाल, नीर शाह, चैत्यदेवी, आकाश अधिकारी, नवल खड्का, सरिता लामिछाने, रामकेशर बोगटी लगायतका चलचित्रकर्मीहरुले आर्यघाट पुगेर थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वि.सं १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा जन्मिएका कलाकार भिमबहादुर थापा सन् १९४२ मा ब्रिटिस आर्मीमा भर्ना भइ सन् १९४५ को दोश्रो विश्वयुद्ध समेत लडेका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिँदै सम्मान प्रकट समेत गरेको छ।

Got Something To Say: