जापानी विदेशमन्त्री तारो कोनो र प्रधानमन्त्री ओली बिच भेटवार्ता, निरन्तर सहयोग गर्न सकारात्मक जापान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा आएका जापानका विदेशमन्त्री तारो कोनोले भेटवार्ता गरेका छन्।

विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो।

मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि

क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गरेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बताएका छन् ।

प्रधानमन्त्री ओलीको अनुरोधलाई सकारात्मक रुपमा लिएको र जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी सल्लाहकार भट्टराईले दिएका हुन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनको विकास हुनुपर्नेमा जोड दिँदै मन्त्री कोनोले सोका लागि जापानले सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन्।
भेटमा सूर्य्विनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार विमर्श भएको सल्लाहकार भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईका अनुसार नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौं आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धन र विशेषगरी ‘नेपाल भ्रमण वर्ष, २०२०’लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता जापानी विदेशमन्त्रीबाट व्यक्त भएको बताइएको छ । रासस

Got Something To Say: