सरकार र सीके राउत समूहबीच भएका सहमतिलाई प्रस्ट्याउन दुवै पक्षसँग नेपाली कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले सरकार र सीके राउत समूहबीच भएका सहमतिलाई प्रस्ट्याउन दुवै पक्षलाई आग्रह गरेको छ ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र सीके राउत पक्षले साझारुपमा सहमतिको व्याख्या सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

उनले ११ बुँदे सहमतिको बुँदा नम्बर–२ ले विखन्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्नेगरी राज्यको तर्फबाट वैधानिकता दिन खोजिएको आरोप समेत लगाएका छन् ।

‘जनअभिमत’मा आधारित लोकतन्त्रिक विधिको अर्थ जनमतसंग्रह नै हुने भन्दै शर्माले ‘सरकार षड्यन्त्रमा फसेको हो वा सरकार आफैं राष्ट्रघाती षड्यन्त्रमा सहभागी भएको हो ?’ भन्ने प्रश्न समेत गरेका छन् ।

सहमतिमा भएका त्रुटिहरु सच्याउन सरकारसँग दुईओटा विकल्प रहेको भन्दै प्रवक्ता शर्माले सहमतिमा प्रयोग भएको भाषा तत्काल सच्याउनुपर्ने वा दुवै पक्षको संलग्नतामा साझा व्याख्या सार्वजनिक गरिनुपर्ने समेत बताएका छन् ।

संविधान संशोधनमार्फत् तराई–मधेसमा रहेको असुन्तष्टि हल गर्नसकिने उनको भनाइ थियो ।

Got Something To Say: