संसदिय समितिको निर्णय सर्वोच्च अदालतको जस्तै हो – नेता भुसाल

भक्तपुर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पम्फा भुसालले जनताको अभिमतबाट आएको सरकार र संसदको निर्णयलाई न्यायपालिकाले मान्नुपर्ने बताएकी छन् ।

रफत सन्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अग्रगामी परिवर्तनलाई न्यायपालिकाले आत्मसात् गर्नुपर्नेमा त्यस्तो हुन नसकेको बताएकी छन् ।

‘जनताको अभिमतलाई न्यायपालिकाले कुठाराघात गर्न हुन्न । अन्य संस्थाको पुनःसंरचना भएजस्तै न्यायपालिकाको पनि पुनःसंरचना हुनुपर्छ ।’उनले भनेकी छन् ।

प्रतिपक्षीले जनमतअनुरुप जनताको सुविधाका लागि विगतमा झैं मिलेर देश विकासको काममा जुट्नुपर्ने भुसालको भनाई रहेको थियो ।

सत्ता र प्रतिपक्षी नभइ संविधानको कार्यान्वयन, देशको विकास र समृद्धिमा एक भएर अघि बढ्नुको विकल्प नभएको बताउँदै उनले नेपाल र नेपालीको हीत हुने कार्यमा लाग्न प्रतिपक्षीलाई सुझाव दिएकी छन् ।

प्रधानन्यायाधीश नियुक्तिमा संसदीय सुनवाइ समितिले हचुवामा निर्णय नगरेको र अनुसन्धानलाई आधार बनाएर आफ्नो अधिकार प्रयोग गरेको भुसालको जिकिर रहेको थियो ।

उनले समितिको निर्णय सर्वोच्च अदालतको निर्णयजस्तै अन्तिम भएकाले यसमा प्रधानमन्त्रीलाई बीचमा ल्याउन खोज्ने प्रतिपक्षीको प्रयास गलत भएको औंल्याएकी छन् । रासस

Got Something To Say: