जहाँ–जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।

मंगलबार बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसितको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

गत फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको विस्फोटका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न गएको टोलीसँग कुरा गर्दै उनले बम पड्काउने र पैसा असुल्नेहरुसित वार्ता गर्नुको औचित्य नभएको स्पस्ट पारेका हुन्।

‘कतिपयले वार्ता गर्नुर्पयो भन्छन् । तर, के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्’–प्रधानमन्त्री ओलीले भने–‘जहाँ–जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिइन्छ ।’

‘एउटा गिरोह’ले कम्युनिस्टका नाममा घिनलाग्दो काम गरिरहेको उनले उल्लेख गरे ।

‘कम्युनिस्टले त युवाहरुलाई कर्म्शिल हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो । यहाँ त कम्युनिस्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुनसक्ने कुरा होइन’–प्रधानमन्त्री ओलीले भने ।

उनले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गर्दै घटनाकाबारेमा सरकारले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Got Something To Say: