‘उदय–मनिला सोताङ लाइभ इन बोस्टन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं– अमेरिकाको बोस्टनमा ‘उदय–मनिला सोताङ लाइभ इन वोस्टन’कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

चर्चित गायक,गायिका उदय सोताङ, मनिला सोताङ तथा अभिनेता दिलिप रायमाझी लगायतको भव्य प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको आयोजकका तर्फबाट सुरेश वाग्लेले जानकारी गराए। नेपाली वेबसाइट डटकम र जात्रा नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम गत आइतबार बोस्टन स्थित रिजेन्ट थिएटर मेडफोर्डमा सम्पन्न भएको हो।

कार्यक्रममा सोताङ जोडीले ‘आधी बाटो हिडे पछि’, ‘छिन् छिनमा हास्न मन लाग्छ’, ‘भिज्यो सिरानी’ ‘तिमी विना बाँच्नै गार्हो भो’, ‘उकाली चढौँला’ ‘प्यार हुन्छ’लगायतका १ दर्जन बढी विभिन्न कालजयी गीतहरू गाएर उपस्थित दर्शक स्रोतालाई मन्त्रमुग्ध बनाएका थिए। रोमान्टिक मुडमा उपस्थित सोताङ जोडीले बोस्टनमा बस्ने नेपालीहरुको उत्कृष्ट साथ र सम्मान समेत पाएका थिए।

यसैगरी कार्यक्रममा गायक प्रभु शंकरले ‘जति बिर्स्यो तिम्रो याद’ र ‘बिस्तारै’ बोलका सुरेश वाग्लेको रचनामा रहेको दुईवटा गजल गाएका थिए। उदय, मनिला र प्रभुको गायनका लागि तवलामा सागर खतिवडा र गितारमा श्याम नेपालीले साथ दिएका थिए। कार्यक्रममा सारङ्गीवाधक श्याम नेपालीको एकल प्रस्तुति पनि रहेको थियो ।

कार्यक्रमको अर्को आकर्षण अभिनेता दिलिप रायमाझीको उत्कृष्ट नृत्य प्रस्तुति रहेको थियो, जसमा स्थानीय कालाकारहरू सुष्मा अधिकारी र ललिता शर्माले साथ दिएका थिए। कार्यक्रममा ‘हिमालयन कल्चलर एकेडेमी’ बोस्टनको तर्फबाट अध्यक्ष सुरेश वाग्लेले उदय सोताङ र मनिला सोताङ तथा उपाध्यक्ष श्याम नेपालीले अभिनेता दिलिप रायमाझीलाई सम्मानसमेत गरेका थिए ।

यसैगरी कार्यक्रममा रचनाकार सुरेश वाग्लेद्वारा तयार ‘तिमी साथ भएपछि’ गजल एल्वमको पनि विमोचन गरिएको छ। उत्कृष्ट १० गजल समावेस एल्वमलाई उपस्थित गायकद्व्य उदय मनिला सोताङ र दिलिप रायमाझीको हातबाट विमोचन गरिएको थियो। एल्वमलाई नेपालमा भने यसअघि नै सार्वजनिक गरिसकिएको छ।

साङ्गीतिक प्रस्तुतिकै लागि अमेरिका पुगेका सोताङ जोडी यतिबेला अमेरीकाकै लस एञ्जलस पुगेका छन्। उनीहरू त्यहाँको कार्यक्रम सकेर अर्को हप्ता नेपाल फर्कने छन्।

तस्बिर:नेत्र पधान

Got Something To Say: