८५० बर्षभन्दा पुरानो चर्चमा आगलागी

पेरिस – फ्रान्सको राजधानी पेरिसमा रहेको एक ऐतिहासिक क्याथोलिक चर्चमा आगलागी भएको छ । ८५० बर्षभन्दा पुरानो ‘नोट्र–डाम क्याथेड्रल’ आगलागीको चपेटामा परेको हो ।

चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो । सोही क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनामा एक व्यक्ति घाइते भएको बताइएको छ । आगलागीले छत र अन्य भागमा क्षति पुगे पनि मुख्य संरचना र घन्टी झुन्ड्याउने दुईवटा महत्वपूर्ण टावर भने सुरक्षित रहेको छ ।

स्थानीय समयअनुसार सोमबार अपराह्नबाट आगलागी शुरू भएको थियो । घटनापछि वरिपरिका भवनहरूलाई खाली गराइएको छ । गत वर्ष फ्रान्सको क्याथोलिक गिर्जाघरले जीर्ण भएको भन्दै सो भवनलाई जोगाउनका निम्ति सहयोग गर्न अपील गरेको थियो ।

आगलागीपछि हजारौँ मानिस सडकमा निस्केका थिए । तीमध्ये केही रुँदै गरेको त कोहीकोहीले भजन गाउँदै गरेको देखिन्थ्यो । आगलागीलगत्तै घटनास्थल पुगेका राष्ट्रपति एमानुएल माक्रोँले सबै क्याथोलिक र फ्रान्सेली नागरिकप्रति आफ्नो समवेदना रहेको बताए । संचारकर्मीहरुसँग कुरा गर्दै उनले सबै देशवासीले जस्तै आफुले पनि हाम्रो एउटा अंश जलिरहेको देखेर दुःखी भएको प्रतिक्रिया दिए ।

आगलागीप्रति विश्वका नेताहरुले दुःख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले भयानक आगलागी हेरिहेको र यसलाई चाँडो नियन्त्रणमा लिनुपर्ने बताएका थिए । जर्मन चान्सलर एंगेला मर्केलले नोट्र–डाम कथिड्रललाई फ्रान्सेली र युरोपेली संस्कृतिको एउटा प्रतीक भन्दै फ्रान्सेली नागरिकलाई सहयोगको प्रस्ताव गरेकी छन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि आगलागीको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । पेरिसको अभियोजनकर्ताको कार्यालयले आगलागीको कारणबारे छानबिन थालिएको जनाएको छ । बर्सेनि लाखौं मानिस मानिस यो चर्चको अवलोकनका लागि आउने गर्दथे । (एजेन्सी)

 

Got Something To Say: