भारतलाई पछि पार्दै नेपाल साफ यु–१८ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – भुटानको थिम्पुमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ ।
शुक्रबार साँझ सम्पन्न सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतमाथि ‘टाइब्रकेर’मा ३–१ को जित हासिल गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।
टाइब्रेकरमा नेपालका लागि गोलरक्षक अन्जना रानामगर, रेखा पौडेल र मनीषा राउतले गोल गरेका थिए । अन्जनाले भारतका दुई प्रहार बचाएकी थिइन् । भारतको एक प्रहार क्रसबारमा लागेको थियो । नेपालका लागि पूजा रानाको प्रहार भने सफल हुन सकेन ।
यसअघि, निर्धारीत ९० मिनेटको खेलमा १–१ को बराबरी भएको थियो । नेपालले खेलको १५औं मिनेटमै गोल गर्दै प्रारम्भिक अग्रता दिलाएको थियो। रेखा पौडेलको पासलाई रश्मी कुमारी घिसिङले गोलमा परिणत गरेपछि नेपालको अग्रता सुरुवात भएको थियो।
मध्यान्तरसम्म नेपालले अग्रता लिएकामा ६२औं मिनेटमा भारतकी टुडु जबामानीले गोल गर्दै बरावरीमा खेललाई अगाडि बढाउन भारतलाई सहयोग गरिन्।
नेपाल समूह ‘बी’को उपविजेताकारुपमा सेमिफाइनल पुगेको थियो भने भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’को विजेता बनेको थियो ।
समूह चरणमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गर्दा बंगलादेशसँग भने २–१ ले पराजित भएको थियो ।
नेपालले अब उपाधिका लागि बंगलादेश र आयोजक राष्ट्र भुटानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Got Something To Say: